• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

गभर्नरको शपथसँगै सेयर बजारमा गिरावट

  • २०८२ जेठ ७, बुधबार १५:३७

काठमाडौं।  नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलले शपथ लिएर पदभार ग्रहण गरेको दिन नै सेयर बजारमा गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ७.२९ अंकले घटेर २,६६९.५१ बिन्दुमा झरेको हो।

यसअघिको दिन मंगलबार पौडेल गभर्नर नियुक्त हुने चर्चा चलिरहँदा सेयर बजारमा हरियाली देखिएको थियो। तर, औपचारिक नियुक्तिपछि भने बजारमा सुधारको सट्टा गिरावट देखिएको हो।

बुधबारको कारोबारमा कुल २ करोड ३० लाख २६ हजार कित्ता सेयर किनबेच भएका छन्, जसबाट करिब १० अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

यद्यपि सो दिन बैंकिङ, विकास बैंक र म्युचुअल फण्ड समूहका उपसूचकहरू भने सामान्य रूपमा बढेका छन्। अन्य अधिकांश समूहहरूमा भने गिरावट देखिएको हो।

  • २०८२ जेठ ७, बुधबार १५:३७