काठमाडौं । राजसंस्थावादीको प्रमुख घटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन ले जेठ १५ गतेदेखि सुरु गर्न लागेको आन्दोलनको पूर्वसन्ध्यामा ४० वर्षभन्दा मुनिका विभिन्न पेशा र व्यवसायका युवा र विद्यार्थीहरूसँग अन्तरसंवाद गर्ने तयारी गरेका छन्।
जेठ १२ गते राजधानीको राष्ट्रिय सभागृह मा आयोजना हुने उक्त कार्यक्रममा ‘अवस्था बदल्न व्यवस्था परिवर्तन किन? युवासँग राप्रपा’ भन्ने नाम दिइएको छ। राप्रपाका युवा विभाग प्रमुख प्रकाश रिमाल ले बताए अनुसार, यस कार्यक्रममा युवाहरुको राप्रपासँग सम्बन्धित जिज्ञासाहरूको समाधान गर्ने प्रयास गरिनेछ।
राप्रपाले गर्ने व्यवस्था परिवर्तन के हो? राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्र का पक्षमा र संघीयता खारेजी गर्ने पक्षमा के कारणहरू छन्? आन्दोलनमा युवाहरूको सहभागिता किन जरुरी छ? जस्ता प्रश्नहरूको जवाफ र प्रत्यक्ष अन्तरक्रिया गर्ने उद्देश्यले अध्यक्ष लिङ्देनले यी सबै जिज्ञासामा युवाहरूसँग संवाद गर्नेछन्।
कार्यक्रममा राप्रपाका राजनीतिक एजेण्डा मात्र नभई आर्थिक र सामाजिक एजेण्डा का विषयमा पनि युवाले प्रश्न उठाउने मौका पाउनेछन्। राप्रपाले राजाका विषयमा र आन्दोलनपछिको मार्गचित्र के हुनेछ भन्ने बारे पनि खुलासा गर्ने बताइएको छ।
रिमालका अनुसार, राप्रपा केवल राजा पुनर्स्थापना मात्रको मुद्दा उठाउँदैन, बरु जनजीविका, आर्थिक विकास र सामाजिक न्याय का विषयमा पनि सशक्त एजेण्डा राख्छ। आजको युवा पुस्तासँग यो एजेण्डा स्पष्ट गर्न आवश्यक छ, र यस कार्यक्रमले यो भ्रम हटाउने र युवाहरुलाई आन्दोलनमा सहभागिता जनाउन प्रोत्साहित गर्ने विश्वास राप्रपाले लिएको छ।
राप्रपाले १५ गतेको आन्दोलनमा राजनीतिक र गैरराजनीतिक क्षेत्रका युवाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने योजना बनाएको छ। यस कार्यक्रमबाट राप्रपा पुरानो पार्टी मात्र नभई वर्तमान र आगामी पुस्ताको पार्टी पनि हो भन्ने सन्देश दिन चाहन्छ।
यसअघि राप्रपाले प्रवुद्ध वर्ग, नेवाः समुदाय लगायतका विभिन्न वर्गसँग छलफल र आन्दोलनको तयारी सम्बन्धी बैठकहरू आयोजना गरिसकेको छ। यसैगरी, संयुक्त जनआन्दोलन समितिले आबद्ध दलहरूसँग नियमित बैठक र लक्षित वर्गका साथ छलफल गर्दै आफ्नो तयारी अघि बढाइरहेको छ।