• २०८३ असार ७
  • 2026 June 21, Sunday

राजेन्द्र महतो मधेसी सम्मेलनमा सहभागी हुन अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो यही जेठ ९ गते शुक्रबार अमेरिकातर्फ प्रस्थान गर्ने भएका छन्। उनी मधेसी एसोसिएशन इन अमेरिका (माँ) द्वारा आयोजित चौथो राष्ट्रिय सम्मेलनमा सहभागी हुन अमेरिका जान लागेका हुन्।

‘मधेशी के शान, अपन संस्कृति अपन पहचान, माँ के अभियान मधेशीके समग्र उत्थान’ भन्ने मूल नारासहितको यो सम्मेलन अमेरिकाको भर्जिनिया राज्यको मानसस सहरमा मे २५ तारिख (मेमोरियल डे विकेन्ड) को अवसरमा आयोजना हुँदैछ।

अध्यक्ष महतो सम्मेलनका प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। पार्टीका अनुसार, उनी १० दिन अमेरिका भ्रमणमा रहनेछन् र त्यसपछि कतार प्रस्थान गर्ने कार्यक्रम रहेको छ, जहाँ उनी ४ दिन रहनेछन्।

संस्थाका अध्यक्ष संगीत रौनियारले सम्मेलनको तयारी तीव्र रूपमा अगाडि बढेको जानकारी दिँदै मधेशी समुदायको पहिचान, हित र अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न आफूहरू क्रियाशील रहेको बताए।

त्यस्तै वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोज सिंहले अमेरिकाभरिबाट मधेशी समुदायको उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गर्दै सम्मेलनलाई मधेशी एकताको प्रतीकका रूपमा वर्णन गरे।

आयोजक संस्थाले अमेरिका भरिका सम्पूर्ण मधेशी समुदायलाई सम्मेलनमा सहभागिता जनाई आपसी सहकार्य, संस्कृतिको प्रवर्द्धन र एकताको सन्देश फैलाउन आग्रह गरेको छ। सम्मेलनबाट प्रवासमा रहेका मधेशीहरू अझ संगठित भई मधेशको आवाज अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने अपेक्षा गरिएको छ।