• २०८३ असार ७
  • 2026 June 21, Sunday

बजेटमा सपना होइन, व्यवहारिक योजना होस् : अध्यक्ष रवि सिंह

काठमाडौं।  आगामी आर्थिक वर्षको बजेट तयारीमा जुटिरहेको सरकारलाई निर्माण व्यवसायीहरूले “सपनाका प्रोजेक्ट” नल्याउन सुझाव दिएका छन्। उनीहरूले कार्यान्वयन गर्न सकिने योजनामा आधारित बजेट ल्याउन माग गरेका छन्।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहका अनुसार, मुलुकको अर्थतन्त्र सुस्त अवस्थामा छ, उद्योगधन्दा ठप्प छन्, रोजगारी सिर्जना हुन सकेको छैन। यस्तो अवस्थामा सपना देखाउने योजनाभन्दा व्यवहारिक र शीघ्र कार्यान्वयन योग्य योजनालाई प्राथमिकता दिनुपर्ने उनले बताए।

“सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरिएका विषयहरूलाई सम्बोधन गरेर, दुई आर्थिक वर्षभित्र सम्पन्न गर्न सकिने योजना बजेटमा समावेश गर्नुपर्छ,” अध्यक्ष सिंहले भने। “प्रधानमन्त्री र अर्थमन्त्रीले पनि कार्यान्वयनमुखी बजेट ल्याउने प्रतिबद्धता जनाइसक्नु भएको छ, अब त्यसलाई व्यवहारमा उतार्नुपर्छ।”

उनका अनुसार, सरकारले विगतमा सम्झौता गरिएका योजनाहरू प्राथमिकतामा राखेर ती सम्पन्न गर्न पहल गर्नुपर्छ। बजेटमा यस्ता योजनालाई प्राथमिकता दिएर मात्र अर्थतन्त्र चलायमान बन्ने उनले बताए।

सिंहले चेतावनी दिँदै भने, “यदि कुनै योजना बजेटमा समावेश गर्न सकिन्न भने, ती स्वतः खारेज हुने स्पष्ट व्यवस्था बजेटमै हुनुपर्छ। नत्र प्राथमिकता तोक्ने काम प्रभावकारी हुँदैन।”