
काठमाडौं। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल (युवासंघ) को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ। उद्घाटन समारोह अमरसिंह चौरमा हुनेछ भने बन्दसत्र पोखरा सभागृहमा सञ्चालन हुने आयोजकले जनाएको छ।
महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको इनचार्ज राजीव पहारीले जानकारी दिएका छन्। उद्घाटन सत्रलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
यस महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। पदाधिकारी संख्या साबिक १७ बाट घटाएर ९ मा झारिएको छ भने उमेर सीमा ४० वर्षमा सीमित गरिएको छ। महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष (एक महिला), महासचिव, उपमहासचिव र चार सचिवसहित १५१ सदस्यीय समिति चयन गर्नेछ।
अध्यक्ष पदका लागि हालका अध्यक्ष क्षितिज थेबेसहित पाँच नेताको आकांक्षा देखिएको छ। प्रमुख प्रतिस्पर्धीको रूपमा क्षितिज थेबे, महाराज गुरुङ र महासचिव सुमन पुरीलाई हेरिएको छ। पार्टी नेतृत्वले थेबेलाई दोहोर्याउन दबाब दिएको बताइएको छ, तर उनले चुनावी प्रतिस्पर्धा नगर्ने र सर्वसम्मत अवस्थामा मात्र नेतृत्व लिने अडान राखेको स्रोतले जनाएको छ।
महासचिव पदका लागि उपमहासचिव तथा सचिवहरूबीच प्रतिस्पर्धा देखिएको छ। राजन थापा, निरोज पौडेल, खेम शर्मा, पर्वत भण्डारी, विनय शाह, कुबेर अधिकारी र महेश चौलागाईंको नाम चर्चामा छ। सबैजसो उम्मेदवार पार्टी अध्यक्ष ओलीको समर्थनको प्रतीक्षा गरिरहेको बताइएको छ।
खुला उपाध्यक्षमा राकेश राई, ध्रुव खड्का, मोबिन आलम, राजन थापा र बलराम बेलबासेको चर्चा छ। महिला उपाध्यक्षका लागि शारदा पछाईं, निशा लिम्बु, रेसु तामाङ र अनुपमा राईको नाम अगाडि आएको छ। महाधिवेशनलाई सर्वसम्मत बनाउने प्रयासस्वरूप पोखरामा विभिन्न चरणका बैठकहरू जारी छन्।