काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत १४ कर्मचारीको गृह मन्त्रालयले सरुवा गरेको छ। भिजिट भिसाका नाममा मानव तस्करीमा संलग्नता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको बेला सरुवा गरिएको हो।
सरुवा हुनेमा ९ जना नायब सुब्बा, एक जना सहायक कम्प्युटर अपरेटर र ४ जना कम्प्युटर अपरेटर छन्। नायब सुब्बा खुबराज श्रेष्ठ सिन्धुपाल्चोक, दत्त लामा जाजरकोट, गोविन्दप्रसाद अधिकारी गोरखा, तेजराज गौतम बागलुङ, सुवास केसी रुकुम पश्चिम, कुबेरप्रसाद दाहाल धनकुटा, प्रमप्रसाद पौडेल र वीरभद्र जोशी काठमाडौँ तथा नरबहादुर थापा बाँके सरुवा भएका छन्।
सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठ र कम्प्युटर अपरेटर उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ र धनराज उपाध्यायलाई कारागार व्यवस्थापन विभाग वा त्यसअन्तर्गतका निकायमा खटाइएको गृह मन्त्रालयले जनाएको छ। यही प्रकरणमा अख्तियारले प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तिर्थराज भट्टराईलाई सरुवा भएको भोलिपल्टै नियन्त्रणमा लिएको थियो। हाल उनको मोबाइल ‘फरेन्सिक ल्याब’मा पठाएर अनुसन्धान अघि बढाइएको छ।