ग्राहकको गुनासो सुन्ने अभियान कोशीबाट सुरु : हितेन्द्रदेव शाक्य

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विश्वसनीय विद्युत् आपूर्तिमा देखिएका समस्याको समाधानका लागि गुनासो सुन्ने अभियान सुरु गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उक्त अभियान कोशी प्रदेशबाट सुरु गरिएको जानकारी दिएका छन्। उनले विराटनगरका उद्योगी, व्यवसायी र वितरण केन्द्र प्रमुखहरूसँग छलफल गरी सब-स्टेसन र वितरण केन्द्रहरूको स्थलगत अनुगमन समेत गरेका छन्।

‘प्राधिकरणको प्रमुख प्राथमिकता विश्वसनीय विद्युत् आपूर्तिमा हो,’ शाक्यले भने, ‘सामाजिक सञ्जालमा फैलिएको लोडसेडिङको हल्लालाई काम गरेर जबाफ दिन हामी फिल्डमा निस्किएका हौं।’

उनका अनुसार डेडिकेटेड फिडर, विद्युत् आपूर्तिको नियमितता र गुणस्तरसँग सम्बन्धित गुनासो सुन्ने र समाधान खोज्ने अभियान वीरगन्ज, भैरहवा, नेपालगञ्ज लगायत स्थानहरूमा पनि विस्तार गरिनेछ।

शाक्यले प्राधिकरणले समस्या छलफल मात्र होइन, समाधान खोजीमा केन्द्रित भएर काम गरिरहेको बताएका छन्। ‘हामीले बुझेको समस्या र उपभोक्ताले भोगेको समस्या फरक पर्न सक्छ,’ उनले भने, ‘त्यसैले प्रत्यक्ष रूपमा गुनासो सुनेर समाधानतर्फ अघि बढ्छौं।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१