
काठमाडौं। यस वर्ष सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमानसँगै डेंगु सङ्क्रमणको जोखिम पनि बढ्ने प्रक्षेपण गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले मनसुनमा औसतभन्दा बढी पानी पर्ने जनाएको छ भने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले त्यसले डेंगुको जोखिम उच्च बनाउने जनाएको छ।
महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार हाल गत वर्षको तुलनामा कम सङ्क्रमण देखिए पनि अत्यधिक वर्षाले डेंगु फैलाउने एडिज एजिप्टी र एडिज एल्बोपिक्टस प्रजातिको लामखुट्टे फस्टाउने सम्भावना रहने भएकाले सतर्क रहन आवश्यक छ।
उनले भने, “पानी धेरै पर्ने भएकाले जमेको पानीमा लामखुट्टे प्रजनन बढ्छ, जसले संक्रमणको दर उच्च बनाउन सक्छ। ” डा. दाहालले टायर, गमला, पानीका भाँडो जस्ता स्थानमा पानी जम्न नदिन हालैदेखि नै व्यवस्थापन गर्न आग्रह गरे। उनका अनुसार एडिज प्रजातिका लामखुट्टे सफा पानीमा अण्डा पार्ने गर्छन्, जसबाट निस्कने लार्भा वयस्क भएसँगै डेंगु सार्ने जोखिम बढ्छ।
महाशाखाका अनुसार, पुस १७ देखि हालसम्म देशका ७१ जिल्लामा १,०८१ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ। पाँचभन्दा बढी संक्रमित भेटिएका ३० स्थानीय तहलाई संक्रमण नियन्त्रण तथा रोकथामका लागि आवश्यक पहल गर्न पत्राचार गरिएको छ। सन् २०२4 मा डेंगु संक्रमण ७६ जिल्लामा फैलिएको थियो, जसमा १५ जनाको ज्यान गएको थियो भने ४१ हजार ८६५ जना संक्रमित भएका थिए।