जेठ १५ गते पूर्वराजालाई घरमै सिंहासन राखे ठीक हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव दिएका छन्।

शुक्रबार पोखरामा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको १० औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा राजतन्त्र समाप्त भइसकेको भन्दै अब राज सिंहासनको कल्पना गर्नु निरर्थक रहेको बताए।

उनले भने, “१५ गते पूर्वराजालाई सिंहासनमा राख्ने रे! राख्नुछ भने घरमै सिंहासन बनाएर राख, तर देशमा राजतन्त्र भन्ने कुरा गइसकेको छ। अब त्यसको कल्पना गर्नु कस्तो दिमाग होला?”

राजतन्त्र पुनर्स्थापनाको माग उठाउँदै गरिएको गतिविधितर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले जनविरोधी र देशद्रोही गतिविधि सरकारद्वारा सह्य नहुने स्पष्ट पारे। उनले जनता गुमाएर राजतन्त्र फर्काउने प्रयास सफल नहुने दाबी गरे।

महाधिवेशनमा उनले राष्ट्रिय युवा सङ्घलाई सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गर्दै, सहमति नजुटेमा स्वच्छ निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए।