• २०८३ असार ७
  • 2026 June 21, Sunday

विमानस्थलको घटनाबारे आएको समाचारप्रति गृह मन्त्रालयको ध्यानाकर्षण, भ्रामक प्रचारप्रति आपत्ति

काठमाडौं । हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) अन्तर्गत अध्यासन कार्यालयमा भएको घटनासम्बन्धी विषयलाई लिएर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका समाचारप्रति नेपाल सरकारको गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै असत्य, अपुष्ट, भ्रामक तथा आधारहीन समाचारको प्रकाशन–प्रसारणप्रति गम्भीर आपत्ति जनाएको छ। विज्ञप्तिमा मन्त्रालयले यस्तो प्रकारका समाचारले मन्त्रालयको नेतृत्वलाई अनावश्यक रूपमा विवादमा तान्ने प्रयास भएको उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “मन्त्रालय स्पष्ट गर्दछ हाल चर्चामा आएको विषयमा मन्त्रालयको कुनै पनि प्रकारको संलग्नता छैन । सत्य तथ्य नबुझी गरिएको प्रचारप्रसारप्रति मन्त्रालय खेद प्रकट गर्दछ।”

गृह मन्त्रालयले मूलतः शान्ति, सुरक्षा, कानूनको शासन र सुशासन कायम गर्न निरन्तर क्रियाशील रहेको स्पष्ट पारेको छ। मन्त्रालयले सार्वजनिक सुरक्षा, आपराधिक गतिविधिमा शून्य सहनशीलता, र कुशल गृह प्रशासन प्रणाली विकास गर्ने नीति अनुरूप विभिन्न सुधारात्मक कदमहरू चालिरहेको जानकारी पनि गराएको छ। विज्ञप्तिमा भनिएको छ, “गृह प्रशासनलाई व्यवस्थित गर्न मन्त्रालयले निर्धारित नीति, कार्ययोजना तथा संस्थागत सुधार कार्यक्रमहरू प्रभावकारी रूपमा अगाडि बढाइरहेको छ।”

“अनुसन्धानका क्रममा यथार्थ विवरणहरू प्राप्त भइरहेका छन् र छानबिन सम्पन्न भएपछि सम्पूर्ण तथ्य सार्वजनिक गरिनेछ,” मन्त्रालयले स्पष्ट पारेको छ। साथै मन्त्रालयले छानबिन प्रक्रियामा पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएको छ।