काठमाडौं। सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा र उपमेयर लिलाकुमारी मोक्तान संलग्न रहेको भनिएका दुईवटा भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा सुनुवाइ हुँदैछ।
विशेष अदालतका न्यायाधीशत्रय रामबहादुर थापा, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासमा दुवै मुद्दामा आजका लागि पेसी तोकिएको हो।२०७८ चैत २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापा, उपमेयर मोक्तानसहित चार जनाविरुद्ध ५ करोड ३३ लाख रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको आरोपमा गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा दायर गरेको थियो।
त्यसपछि २०७९ जेठ २९ गते थापासहित ६ जनाविरुद्ध बागमती नगरपालिकाको भरत ताल निर्माण प्रकरणमा ३० करोड २९ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अर्को मुद्दा दायर गरिएको हो। विशेष अदालतले यसअघि दुवै मुद्दामा थप प्रमाण पेस गर्न आदेश दिएको थियो।
यसैबीच, मेयर थापा र उपमेयर मोक्तानविरुद्ध जिल्ला अदालतमा ४९ करोड ४९ लाख रुपैयाँको वनसम्बन्धी मुद्दा र विशेष अदालतमा थप ५६ करोड ७१ लाख रुपैयाँको भ्रष्टाचारसम्बन्धी अर्को मुद्दा पनि दायर भइसकेको छ।