काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका सबै अभिव्यक्तिहरूको जिम्मेवारी कांग्रेसले नलिने स्पष्ट पारेको छ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्षका हैसियतले दिएका अभिव्यक्तिहरू सत्तारुढ गठबन्धनकै साझा धारणा होइन भन्ने बताएका हुन्।
“प्रधानमन्त्री एमाले पार्टीको नेता पनि हुनुहुन्छ। उहाँले भनेका सबै कुरा हाम्रो साझा धारणा हुँदैन,” महतले भने, “हामी कब्जा र प्रदर्शनमा केन्द्रित छैनौं। हामी समग्र संविधानको रक्षा र विधिको शासनको पक्षमा छौं।”
उनले संविधानले दिएको दायराभित्र विरोध र अभिव्यक्ति राख्न पाउने अधिकारलाई स्वीकार गर्ने स्पष्ट गर्दै भने, “तर शान्तिपूर्ण ढंगले विरोध गर्नुपर्छ। संविधानकै विरुद्ध जानु उचित होइन भन्नेमा हामी दृढ छौं।”
प्रवक्ता महतले जेठ १५ गते राजावादी समूहले आह्वान गरेको आन्दोलनप्रति लक्षित गर्दै भने, “संविधानविरुद्धका कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुने छैन।”
प्रधानमन्त्री ओलीले हालै एक कार्यक्रममा आफ्ना कार्यकर्तालाई जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राजावादी आन्दोलनको प्रतिकार गर्न निर्देशन दिएका थिए। उनले उक्त दिन बिहान ११ बजेदेखि २ बजेसम्म काठमाडौँ उपत्यका एमालेको नियन्त्रणमा हुनुपर्ने अभिव्यक्ति दिएका थिए।