काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले लोकतान्त्रिक गणतन्त्रविरुद्धका गतिविधिहरू जनविरोधी भएको टिप्पणी गरेका छन्।
बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले गणतन्त्रमाथि आघात गर्ने कुनै पनि प्रयास जनताको सार्वभौमिकता र अधिकारविरुद्ध हुने बताए।
“लोकतान्त्रिक गणतन्त्रका विरुद्ध हुने सबै गतिविधि जनताको सम्प्रभुता र अधिकारमाथिको प्रहार हुन्,” पोखरेलले भने, “यस्ता प्रवृत्तिविरुद्ध आम जनतालाई सचेत र जागरूक बनाउने अभियानमा सिङ्गो पार्टी एकढिक्का भएर लाग्नुपर्छ।”
उनले गणतन्त्र दिवसलाई जनताको उत्सवको दिनका रूपमा विशेष रुपमा मनाउनुपर्ने उल्लेख गरे। एमालेले यस वर्ष गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउने तयारी गर्दै विविध कार्यक्रमहरूको आयोजना गर्ने घोषणा गरेको छ।
महासचिव पोखरेलका अनुसार प्रदेश र जिल्ला कमिटीहरूलाई स्थानीय संघ–संस्थाहरूलाई समेटेर रचनात्मक कार्यक्रमहरू आयोजना गर्न निर्देशन दिइएको छ। उपत्यकामा केन्द्रीय नेतृत्वको सक्रियता रहने जनाउँदै उनले उपत्यकाबाहिर प्रदेश तथा जिल्लास्तरमा नेतृत्व परिचालन गरिने जानकारी पनि दिए। एमालेले आम जनसमुदायलाई गणतन्त्र दिवसमा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ।