राजावादीहरूले ठूलो रकम खर्चेर भ्रम फैलाए: महासचिव पोखरेल

काठमाडौं। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा राजावादीहरूले ठूलो रकम खर्चेर भ्रम फैलाइरहेको आरोप लगाएका छन्।

एमाले बागमती प्रदेश कमिटीद्वारा ललितपुरको गोदावरीमा आयोजित वडा अध्यक्षहरूको प्रशिक्षण भेलालाई आइतबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।महासचिव पोखरेलले भने, “लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतान्त्रिक लोकतन्त्र संसारकै उत्कृष्ट व्यवस्था हो।

” पछिल्ला दिनमा राजावादीहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भारी लगानी गर्दै जनमानसमा असन्तोष फैलाउने काममा लागेको आरोप उनले लगाए।राजाको प्रत्यक्ष शासनकालभन्दा गणतन्त्रात्मक व्यवस्थाले छोटो समयमै नागरिकलाई विभिन्न क्षेत्रमा राहत दिएको उल्लेख गर्दै पोखरेलले राजावादीहरूको “गणतन्त्रको विकल्प” भन्ने सोच दिवास्वप्ना मात्र भएको दाबी गरे।

उनले थपे, “पञ्चायती व्यवस्थामा धनी–गरिबबीच २१ गुणा खाडल थियो, जुन अहिले घटेर ६ गुणामा झरेको छ। मान्छेको औसत आयु ५४ वर्षबाट ७४ वर्ष पुगेको छ। भौतिक पूर्वाधारको विकासले पनि ठूलो फड्को मारेको छ।”

पोखरेलले वडा सरकारहरूलाई नागरिकसँग प्रत्यक्ष सरोकार हुने तह भएकाले विकास र आशा जगाउने अभियानको अग्रपङ्क्तिमा रहने स्पष्ट निर्देशन दिए। “वडास्तरका जनप्रतिनिधिलाई नागरिकले आफ्नो अभिभावकका रूपमा हेर्छन्,” उनले भने, “त्यसैले सेवा प्रवाह र जनसम्बन्धमा वडाको भूमिका झन् महत्वपूर्ण हुन्छ।”

गणतन्त्रका उपलब्धिहरू आम जनसमुदाय र युवा पुस्तामा प्रभावकारी रूपमा व्याख्या गर्न नसकेको स्वीकार्दै, महासचिव पोखरेलले वडा तहलाई नै त्यसको नेतृत्व लिन आह्वान गरे।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको ऐतिहासिक दिनको स्मरणमा जेठ १५ गते ‘नागरिक उत्सव’को रूपमा देशभर कार्यक्रम गर्नुपर्ने निर्देशन दिँदै उनले एमालेले काठमाडौँमा विशेष उत्सव आयोजना गर्ने जानकारी पनि दिए। सो अवसरमा ४ सयभन्दा बढी सांस्कृतिक झाँकीसहितको र्‍याली निकालिनेछ।

भेलामा बागमती प्रदेशका १० जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ वडा अध्यक्षहरूमध्ये ३५० जना सहभागी भएको प्रदेश इन्चार्ज डा. राजन भट्टराईले जानकारी दिए।