
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग गरेको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद शिशिर खनालले उक्त माग राख्दै आयोग गठन नभएसम्म संसद चल्न नदिने घोषणा गरे।
खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजनीतिक संरक्षणमा लुटतन्त्र चलाइएको आरोप लगाए। उनले गृहमन्त्रीले विवादित पृष्ठभूमिका एक सहसचिवलाई अध्यागमन विभागमा किन पठाएको भन्ने प्रश्न उठाउँदै गृहमन्त्रीको स्वार्थ संलग्न हुनसक्ने आशंका व्यक्त गरे।
“कुनै निकाय प्रमाण जुटाइरहेको छ भने उसलाई प्रमाण नष्ट गर्न सरुवा गरिन्छ कि प्रमाण जुटाउन दिनुपर्छ?” खनालले प्रश्न गरे, “अनुसन्धान गृहमन्त्रीसमेतको हुनुपर्छ। तर, प्रहरीको अनुसन्धानमाथि हामीलाई शंका छ।
नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा सहकारी काण्ड, सत्ता पक्षप्रति कानुनको फरक व्यवहार देखिन्छ। ”उनले गृहमन्त्रीमाथि निष्पक्ष छानबिन सुनिश्चित गर्न उच्चस्तरीय आयोग आवश्यक रहेको भन्दै त्यसको गठन नभएसम्म संसद सञ्चालनमा सघाउने अवस्था नरहेको स्पष्ट पारे।