काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले ‘भिजिट भिसा’ प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनु पर्ने र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गरेका छन्।
प्रतिनिधि सभाको बैठक स्थगित भएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै खनालले गृहमन्त्री अनुसन्धानको घेरामा आउनुपर्ने स्पष्ट पारे।
“अब उहाँ (गृहमन्त्री) ले नै संसदमा बोलेको हो—कुनै पनि प्रकरणमा कुरा उठेपछि राजीनामा दिनुपर्छ भनेर,” खनालले भने, “त्यसैले अहिले प्रधानमन्त्रीले जवाफ दिनुपर्छ र गृहमन्त्रीले छानबिनमा सघाउनु पर्छ। हामी उनलाई जवाफ दिन दिने पक्षमा छैनौं, अब उहाँ छानबिनको दायरामा रहनुपर्छ।”
खनालले यो प्रकरण सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) को मुद्दासँग जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग पुनः दोहोर्याए।