• २०८३ असार ७
  • 2026 June 21, Sunday

“पहिले आगो लगायौँ, पछि माओवादी कार्यालय तोडफोड गर्न गयौँ” – अनुप राजावादी

काठमाडौं।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट अनवरत तत्पर फौज (एटीएफ) का सदस्य गोकर्ण शाही (अनुप राजावादी) ले चैत १५ गतेको राजावादी प्रदर्शनका क्रममा भएको आगजनीमा आफू पनि संलग्न भएको स्वीकार गरेका छन्।

प्रहरीसमक्षको बयानमा शाहीले पत्रकार सुरेश रजक मृत भेटिएको तीनकुनेस्थित घरमा लागेको आगो आफूसमेतले लगाएको बताएका हुन्। शाहीका अनुसार तारा राजावादी भनिने सरोज गौतम, शिवसेना सदस्य दण्डपाणि रेग्मी लगायतको समूहमा मिसिएर उनले पनि आगो लगाउन सहयोग गरेका थिए।

उनले प्रहरीलाई दिएको बयानमा अनधिकृत रूपमा भुइँतलाबाट घरभित्र पसेर आगो लगाइएको र त्यसपछि उनीहरू पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालयमा तोडफोड गर्न गएको उल्लेख गरेका छन्।

शाहीका अनुसार एटीएफ, पीडीएफ, आरटीएफ, शिवसेना लगायतका संगठनमा आबद्ध करिब २५–३० जनाको समूह माओवादीको केन्द्रीय कार्यालय तोडफोड गर्न पुगेको थियो। तर त्यहाँ वाइसीएल सदस्यहरू उपस्थित देखेपछि उनीहरू कार्यालयमा प्रवेश नगरी फर्किएको र पछि डेरातर्फ गएको बताएका छन्।

तीनकुनेस्थित घरमा लगाइएको आगोबाट एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको जानकारी भने आफूले पछि सामाजिक सञ्जालबाट मात्र पाएको शाहीले बयानमा उल्लेख गरेका छन्।