प्रचण्डद्वारा सहिद लखन गाउँपालिकाको नयाँ भवन उद्घाटन

काठमाडौं ।  गोरखाको सहिद लखन गाउँपालिका–६, घैरुङमा निर्माण गरिएको नयाँ प्रशासकीय भवनको उद्घाटन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार संयुक्त रूपमा गरेका छन्।

करीब २१ रोपनी क्षेत्रफलमा फैलिएको उक्त भवनमा ५२ कोठा छन्। निर्माण कार्य सम्पन्न गर्न ८ करोड ४३ लाख रुपैयाँ लागत लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिए।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान संघीय लोकतान्त्रिक व्यवस्थामाथि नकारात्मक प्रचार भइरहेको भन्दै त्यसको संरक्षणका लागि सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिए। “दशकौँको संघर्ष र बलिदानीबाट प्राप्त यो व्यवस्थाको रक्षा गर्न फेरि एकताबद्ध भएर अघि बढ्नुपर्छ,” उनले भने।

प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण अपरिहार्य रहेको उल्लेख गर्दै निर्णय प्रक्रियालाई अब ढिलो गर्न नहुने धारणा राखे। “मेरो पालामा बूढीगण्डकी मोडालिटीबारे जति बैठक भए, अरु विषयमा भएनन्। त्यसैले यो आयोजना अब बन्नै पर्छ,” उनले स्पष्ट पारे।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चुनावी वाचा पूरा गर्न सबै तहका सरकारबीच समन्वय जरुरी रहेको बताए। उनले संघीयता कार्यान्वयन गर्न संघबाट आवश्यक कानुनहरू नबन्दा प्रदेश र स्थानीय सरकार प्रभावकारी सेवा दिन नसकेको गुनासो गरे। पालिकाका अध्यक्ष रमेश थापाले नयाँ भवनले जनसेवा अझै सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।