• २०८३ असार ७
  • 2026 June 21, Sunday

एमालेलाई टुँडिखेलमा कार्यक्रमको अनुमति, राजावादी आन्दोलन रिङरोड बाहिर सीमित गर्ने तयारी

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा नेकपा (एमाले) ले भोलि बिहीबार काठमाडौंको टुँडिखेल क्षेत्रमा सांस्कृतिक कार्यक्रम आयोजना गर्न अनुमति पाएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार जिल्ला प्रशासन कार्यालयले टुँडिखेल वरपरका क्षेत्रहरू सुन्धारा, भृकुटीमण्डप, रत्नपार्कमा कार्यक्रम गर्न अनुमति दिएको हो।

यही दिनदेखि राजसंस्थाको पुनःस्थापनाको माग गर्दै राजावादीहरूको संयुक्त मोर्चाले पनि आन्दोलनको घोषणा गरिसकेको छ। नवराज सुबेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाउँदै रत्नपार्कबाट आन्दोलन सुरु हुने बताएको छ।

यद्यपि समितिले प्रशासनसँग कार्यक्रमका लागि औपचारिक अनुमति भने मागेको छैन। प्रमुख जिल्ला अधिकारी तिवारीका अनुसार आन्दोलनकारी पक्षले कुनै आधिकारिक निवेदन हालसम्म दिएको छैन।

राप्रपा नेपालका प्रवक्ता राजाराम बर्तौलाले भने आफूहरूले आन्दोलनको जानकारी प्रशासनलाई दिने बताएका छन्। “हामी सम्भवतः लिखित रूपमा जानकारी गराउने छौं, तर अनुमति पर्खेर चाहिँ बस्दैनौं,” बर्तौलाले भने।

यसअघि, गत शनिबार संयुक्त जनआन्दोलन समितिले रत्नपार्कमा १५ गते दिउँसो १२ बजेभेला भइ आन्दोलन सुरु गर्ने आह्वान गरिसकेको थियो।सुरक्षाका विषयमा प्रहरी स्रोतले भने आन्दोलन रिङरोड भित्र गर्न नदिने रणनीति बनाइएको जानकारी दिएको छ।

स्रोतका अनुसार राजनीतिक तहबाट आएको निर्देशनअनुसार राप्रपालाई रिङरोड बाहिर कार्यक्रम गर्न अनुमति दिने तयारी भइरहेको छ। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले उपत्यकाका विभिन्न प्रहरी युनिटहरूसँग समन्वय भइरहेको बताए। उनका अनुसार उपत्यका प्रहरी कार्यालयको सुरक्षा योजनाबारे अन्तिम निर्णय भएपछि मात्रै योजना सार्वजनिक गरिनेछ।