काठमाडौं । न्याय परिषद् नियमावली, २०७४ को संशोधनविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ सम्मिलित संवैधानिक इजलासमा रिटको सुनुवाइका लागि पेसी तोकिएको हो।
न्याय परिषद्ले २०७४ को नियमावलीमा संशोधन गर्दै २०८० असोज १ मा मुख्य रजिष्ट्रारलाई रोलक्रममा अगाडि राखेर उच्च अदालतको न्यायाधीश नियुक्त गर्न सकिने व्यवस्था गरेको थियो। सो संशोधनअनुसार सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार उच्च अदालतको न्यायाधीश नियुक्त भएमा उनीहरू उच्च अदालतका मुख्य न्यायाधीशपछिको रोलक्रममा रहनेछन्।
साथै, एकैपटक नियुक्त भएका भए पनि मुख्य रजिष्ट्रारबाट आएका व्यक्तिलाई रोलक्रममा माथि राखिने व्यवस्था गरिएको छ। यस संशोधनविरुद्ध स्वतन्त्र कानुन व्यवसायी संघका तर्फबाट अधिवक्ता यज्ञमणि न्यौपानेसहित १० जना कानुन व्यवसायीले वैशाख २२ गते रिट दायर गरेका थिए।
यसअघि २०८० असोज २१ गते दायर गरिएको रिट सर्वोच्चको एकल इजलासबाट खारेज गरिएको थियो। तर, सो निर्णय संविधानसँग असंगत भएको भन्दै रिट खारेज गर्ने आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै अधिवक्ताहरूले पूरक निवेदन समेत दर्ता गराएका छन्। आजको सुनुवाइमा सोही रिट र पूरक निवेदनलाई संयुक्त रूपमा लगाउमा राखेर बहस हुनेछ।