• २०८३ असार ७
  • 2026 June 21, Sunday

“खुला प्रतिस्पर्धा युवाको जित हो, जबजलाई व्यवहारमा उतार्न पाउँदा सन्तोष लागेको छ” — सुमन पुरी

काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष पदको निर्वाचनमा पराजित भएका निवर्तमान महासचिव सुमन पुरीले आन्तरिक प्रतिस्पर्धामा हार भए पनि संगठनमा आन्तरिक लोकतन्त्र बलियो बनाउन योगदान गर्न पाएकोमा सन्तोष व्यक्त गरेका छन्।

निर्वाचनपछि जारी वक्तव्यमा पुरीले खुला प्रतिस्पर्धा हुनु नै युवा संघमा आस्था राख्ने सबैका लागि ठूलो जित भएको बताएका छन्। उनले अध्यक्ष पदका लागि उम्मेदवारी दिनुको उद्देश्य पद प्राप्ति नभई विचार, मूल्य र परिवर्तनको पक्षमा उभिनु रहेको उल्लेख गरेका छन्।

पुरीले भनेका छन्, ‘यसरी खुला प्रतिस्पर्धा हुनु नै राष्ट्रिय युवा संघ नेपालमा आस्था राख्ने सबै युवाहरूको ठूलो जित हो। म केबल पदको लागि होइन, विचार र परिवर्तनको पक्षमा उभिएको थिएँ। हार वा जित जुनसुकै होस्, यो यात्राले संगठनको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने आधार तयार गरेको छ।

जनताको बहुदलीय जनवादलाई संघभित्र व्यवहारमा उतार्नका लागि उठाइएको आवाज मेरो लागि जितभन्दा कम छैन।’उनले नेतृत्व चयनमा सर्वसम्मतिको नाममा निर्वाचन रोक्ने प्रयास भएको बेला खुला प्रतिस्पर्धाको पक्षमा अडान लिएर चुनाव गराउन भूमिका खेलेका थिए। मंगलवार सम्पन्न निर्वाचनमा क्षितिज थेबे ७९६ मतसहित दोस्रोपटक अध्यक्षमा निर्वाचित भए। सुमन पुरीले ६०८ मत प्राप्त गरेका थिए।