काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक तोकिएको समयमा सुरु हुन सकेको छैन।
संसद बैठक सुरू नहुनुको कारण सत्तारूढ र विपक्षी दलबीचको समन्वय नहुनु रहेको छ। हाल संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक भइरहेको छ भने सत्तारूढ दलहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा छन्।
सभामुख देवराज घिमिरे दुवै पक्षलाई छलफलमा ल्याएर मात्रै बैठक अगाडि बढाउने तयारीमा रहेको सचिवालयले जनाएको छ। गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरूले मंगलबारदेखि संसद अवरुद्ध गर्दै आएका छन्। भिजिट भिसा सेटिङ प्रकरणलाई लिएर उनीहरू आक्रोशित छन्।
मंगलबारको बैठक विपक्षीको नाराबाजीपछि आधा घण्टाका लागि स्थगित गरिएको थियो। त्यसपछि सूचना जारी गर्दै बैठक आज बिहान ११ बजेसम्मका लागि सारिएको थियो।