काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्तारूढ दलका शीर्ष नेताहरूबीच बालुवाटारमा सम्पन्न भएको छलफल सकिएको छ।
छलफलमा आज बस्ने प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले उठेका विषयमा संसदमा प्रस्ट पार्ने सहमति भएको छ। विपक्षी दलहरूले संसद अवरुद्ध गर्ने रणनीति लिएका बेला संसदको गतिरोध हटाउने प्रयासस्वरूप प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यो बैठक बोलाइएको हो।
छलफलमा प्रधानमन्त्री ओली, सभापति देउवा, गृहमन्त्री लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी थिए।
एमाले प्रमुख सचेतक बर्तौलाले संसद् सञ्चालनमा अवरोध हटाउने विषयमा छलफल भएको बताए। ‘उठेका विषयमा गृहमन्त्रीले आजको संसद् बैठकमा प्रस्ट पार्नेछ,’ उनले भने, ‘नियमावलीअनुसार बैठक अघि बढ्छ।’
उनका अनुसार मंगलबारको बैठक विपक्षीको आग्रहमा स्थगित गरिएको थियो।