• २०८३ साउन ७
  • 2026 July 23, Thursday

४७ जना व्यापारीविरुद्ध मुद्दा दायर

काठमाडौं। । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले पछिल्लो २२ महिनामा ४७ जना व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

कार्यालय प्रमुख काशीनाथ घिमिरेका अनुसार चालू आव २०८१/८२ गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा तीनजना व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐन अन्तर्गत मुद्दा दायर गरिएको हो ।

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ४४ जना व्यापारीविरुद्ध मुद्दा दायर गरेको थियो । अनुगमनका क्रममा सङ्कलन गरिएको नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकुल हुने गरी मिसावट गर्ने, म्याद गुज्रेको समान बिक्री गर्ने व्यवसायीविरुद्ध सम्बन्धित जिल्लाको जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रमुख घिमिरेले बताए ।

आव २०८१/८२ मा सो कार्यालयले खाद्य अनुज्ञापत्र सिफारिस, जारी तथा नविकरण ४८३ वटा, दाना अनुज्ञापत्र सिफारिस जारी तथा नवीकरण १८ वटा, ऐन बमोजिम खाद्य तथ दाना नमूना सङ्कलन ९० वटा र खाद्य स्वच्छता सर्भिलेन्सका लागि १८३ सङ्कलन गरी नमूना विश्लेषण गरिएको थियो ।

नमूना विश्लेषण गर्दा प्रतिकुल आएका ८५ नमूनालाई नियामनुसार कानुनी प्रक्रियाअघि बढाउने, पुनःजाँच गराई मापदण्डअनुरुप सुधार गर्न लगाउने तथा व्यवसायीलाई सजग गराई प्रतिबद्धता गर्न लगाइएको प्रमुख घिमिरेको भनाइ छ ।

सो अवधिमा गरिएको अनुगमन, निरीक्षण तथा न्यायिक निकायबाट फैसला कार्यान्वयनका क्रममा उपभोग्य अवधि समाप्त भएका, लेवल विवरण नभएका, सडेगलेकालगायतका अखाद्य भएका ११ लाख ३३ हजार मूल्य बराबरको वस्तु जफत गरी नष्ट गरिएको छ ।

होटल तथा रेष्टुरेन्टको स्तरीकरण गर्न जनप्रतिनिधि, होटल व्यवसायी तथा सञ्चारकर्मीको रोहबरमा सौरहा चितवन लगायतका स्थानमा सञ्चालित १३ वटा होटल तथा रेष्टुरेन्टलाई स्तरीकरण तथा लोगो वितरण गरिएको छ ।