• २०८३ साउन ७
  • 2026 July 23, Thursday

सर्लाहीमा बाटो विस्तारका क्रममा विवाद हुँदा प्रहरीले चलायो गोली

सर्लाहीको बरहथवा नगरपालिका–४ स्थित खैराटोलमा शनिबार बिहान सडक चौडाइको विषयमा उत्पन्न विवादले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गर्नुपरेको छ।

सडक विस्तारको काम भइरहेको समयमा केही स्थानीयवासीले विरोध जनाउँदै ढुंगा प्रहार गरेपछि प्रहरी र सर्वसाधारणबीच झडप भएको थियो। मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार प्रहरीमाथि आक्रमण भएपछि सुरक्षाकर्मीले बाध्य भएर ब्ल्याङ्क फायर (हवाई फायर) गरेका हुन्।

घटनामा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दिवाकर गणेशसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जना सर्वसाधारण रहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई तत्काल उद्धार गरी नजिकको अस्पतालमा उपचारका लागि पठाइएको छ। हाल घटनास्थलको अवस्था सामान्य रहेको र स्थिति नियन्त्रणमा आएको प्रहरी स्रोतले जानकारी दिएको छ।