
काठमाडाैं । चर्चित गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले सामाजिक सञ्जालमा अभद्र र अश्लिल टिप्पणी गर्ने फेसबुक प्रयोगकर्ताहरूको प्रोफाइल सार्वजनिक गर्ने अभियान सुरु गरेका छन् ।
उनीहरूले अभद्र र अश्लिल टिप्पणी गर्ने केही व्यक्तिको आफ्नो फेसबुकमार्फत फोटोसहित प्रोफाइल सार्वजनिक गर्दै धन्यवाद दिन थालेपछि अन्य कलाकाहरूले पनि त्यसको सिको गर्न थालेका छन् । र, सामाजिक सञ्जालमा स्टाटसमा अभद्र र अश्लिस टिप्पणी गर्नेहरूले गायिकाद्वय अधिकारी र चौहानले फोटोसहित प्रोफाइल सार्वजनिक गरेपछि माफी पनि मागेका छन् ।
उनीहरूको यही अभियानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले साथ दिएका छन् । प्रधानमन्त्री ओलीले गायिकाद्वय अधिकारी र चौहानको अभियानलाई साथ दिँदै साहसी छोरीहरू भनेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा गायिकाद्वय अधिकारी र चौहानको तस्वीर राख्दै राम्रो गर्न खोज्नेले हिम्मत हार्न नहुने बताएका छन् । उनले समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ दुई गायिकाको तरिका सही लागेको उल्लेख गरेका छन् ।
‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनुपर्छ । समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो । राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन ।’