• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

पशुपति गौशाला धर्मशालाद्वारा ५ अपाङ्ग व्यक्तिलाई ७ कृत्रिम खुट्टा निःशुल्क वितरण

काठमाडौँ । पशुपति गौशाला धर्मशालाले ५ जना अपाङ्ग व्यक्तिहरूलाई ७ वटा कृत्रिम खुट्टा निःशुल्क रूपमा वितरण गरेको छ। शनिबार आयोजित विशेष कार्यक्रममा प्रतिनिधि सभाका सदस्य माननीय चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा यो सहयोग प्रदान गरिएको हो।

कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी महिला संगठनकी अध्यक्ष श्रीमती निर्मला जोशी र समाजसेवी तथा उद्योगपति श्री वेणीगोपाल मुण्धडा विशेष अतिथिका रूपमा उपस्थित थिए। प्रमुख अतिथि चन्द्र भण्डारीले कार्यक्रममा बोल्दै अपाङ्गता भएका नागरिकहरूलाई पुनःचालित बनाउन कृत्रिम खुट्टा वितरणजस्तो सेवा अत्यन्तै सराहनीय रहेको बताए। उनले गौशालामा संरक्षित गाईलाई ‘आमा’को रूपमा उल्लेख गर्दै गाई सेवा गर्नु भनेको मातृसेवा गर्नु सरह भएको धारणा व्यक्त गरे। साथै, गौशालाबाट प्रदान गरिँदै आएको निःशुल्क डायलासिस सेवाको पनि खुलेर प्रशंसा गरे।

कार्यक्रममा श्री पशुपति गौशाला धर्मशालाका अध्यक्ष श्री रमेश तापडियाले स्वागत मन्तव्य राख्दै संस्था मार्फत गरिँदै आएका विविध सेवाहरुबारे जानकारी दिए। मारवाडी सेवा समिति नेपालका अध्यक्ष श्री प्रमोदकुमार अग्रवाल (चौधरी) ले सेवाकार्यको निरन्तरताका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए।

कृत्रिम खुट्टा वितरण गरिएका व्यक्तिहरूमा श्री प्रकाश नेपाली, श्री राजन श्रेष्ठ, मिना राई, श्रीमती अंतिमा कुमारी यादव र श्री यादव तोलाङ्ग रहेका छन्। उनीहरूलाई आवश्यकता अनुसार घुँडामुनि र घुँडामाथिको खुट्टा तथा मर्मतसहितको पैताला उपलब्ध गराइएको हो।

कार्यक्रममा समिति तथा धर्मशालाका विभिन्न पदाधिकारीहरू — निवर्तमान अध्यक्ष श्री कैलाशचन्द्र गोयल, उपाध्यक्ष श्री पवनकुमार अग्रवाल, कोषाध्यक्ष श्री आनन्दकुमार अग्रवाल, सह–कोषाध्यक्ष सिए दीपककुमार अग्रवाल, कार्यसमिति सदस्य तथा कृत्रिम खुट्टा कार्यशालाका सह–संयोजक श्री विनोद गोयल लगायतको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमको सञ्चालन महासचिव श्री राजेशकुमार अग्रवालले गरेका थिए।

यो कार्यक्रम मारवाडी समाजद्वारा गरिँदै आएको सामाजिक सेवाको एक प्रेरणादायी उदाहरणका रूपमा रहेको आयोजकहरूले जनाएका छन्।