नवलपुरमा डाइभर्सन बगाएपछि फेरी पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौँ । नवलपुरको दुम्किबासको विनयी खोलामा डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग आज बिहानबाट अवरुद्ध बनेको छ । अहिले बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

वैकल्पिक मार्गको रूपमा सञ्चालन गरिएको विनयी त्रिवेणी ३ स्थित खरंगे खोलामा वर्षातको कारण पानीको बहाव बढ्न गई सडक अवरुद्ध भएको हो ।

खोलामा पानीको बहाव बढेपछि खरंगे खोलामा कुनै पनि सवारी साधन पास हुन नसकेको हो । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्ड पछिल्लो १५ दिनयता राम्ररी सञ्चालनमा आउन सकेको छैन ।

दैनिक जसो सडक अवरुद्ध हुने गरेको छ । दुम्किबासको विनयी खोलामा बनाएको डाइभर्सन पनि बगाएपछि समस्या आइरहेको छ ।

पाल्पा लगायत नवलपुरका पहाडी क्षेत्रमा पानी पर्नासाथ दुम्किबासको विनयी खोला र त्यसका आसपासका सहायक नदीहरूमा पानीको बहाव बढ्ने बताइएको छ । पछिल्लो दुई दिन घाम लागेका कारण यस सडक खण्डको दाउन्ने र दुम्किबासमा यात्रा केही सहज भए पनि रातिदेखि परेको पानीले पुन असहज भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१