• २०८३ जेठ २२
  • 2026 June 05, Friday

धनगढीमा एकैदिन २०२ मिमी वर्षा, डुबानले जनजीवन प्रभावित

काठमाडौं। धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका टोलहरू डुबानमा परेपछि स्थानीयहरू समस्यामा परेका छन्। जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार धनगढी विमानस्थलको स्टेसनमा पछिल्लो २४ घण्टामा २०२.२ मिलिमिटर वर्षा मापन भएको छ । विभागले खतराको सङ्केत नै जारी गरेको हो ।

उपमहानगरपालिकाको वडा नम्बर ८ र १२ लगायतका टोलका अधिकांश घरमा पानी पसेपछि स्थानीयहरूको सामानमा क्षति पुगेको छ। वडा नम्बर ८ को शिक्षानगर डुबानको चपेटामा छ। घरभित्र पानी पसेपछि दराज, फ्रिज, लाे बेड, अन्नपात लगायतमा ठुलो क्षति पुगेको छ। स्थानीय दिनेश बोहराले घरमा सरसामान र अन्नपात क्षति पुगेको बताए। उनका अनुसार अहिलेसम्म लाखौँ क्षति भइसकेको जानकारी दिए ।

‘घरभित्रका फ्रिज, दराज, लाे बेड, अन्नपात सबै सखाप भएको छ । स्कुटर र बाइक पनि पानीमा डुबेको छ । अहिले हामीहरु बच्नका लागि छिमेकीको घरमा छाैँ,’ उनले भने । उनका अनुसार टोलका अधिकांश छिमेकीकाे अवस्था यस्तै छ। उता धनगढी-१२ पनि पुरै डुबानमा छ। बजारकाे मुख्य सडक पनि डुबानमा छ। सुरक्षाकर्मीले उद्धारकाे काम गरिरहेका छन्।

कञ्चनपुरकाे कृष्णपुर, बेलाैरीमा पनि डुबान छ। सुदूरपश्चिमका तराईका जिल्लामा डुबानमा परेका छन् । पहाडी जिल्लामा पनि वर्षा जारी छ। सेती नदिमा पानीकाे वहाव बढेपछि बैतडीको सिगास -५ ढुङ्गाढका स्थानीय त्रसित छन्। खाेला तथा नदीहरुमा पानीकाे बहाव बढेपछि डुबान भएको छ। अहिलेसम्म ठुलाे क्षतिकाे घटना भने नआएको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ। विपदकाे समयमा सावधानी र सुरक्षा अपनाउन प्रशासन सबैलाई आग्रह गरेको छ।