काठमाडौँ । संघीय निजामती विधेयकमा कुलिङ अफ पिरियडको प्रावधानमा विवाद र छानबिनको माग उठेपछि नेकपा (एमाले), माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गर्ने अडान लिएका छन्।
फलस्वरूप, मंगलबार बिहान प्रहरी विधेयकमाथि छलफल गर्न बोलाइएको समितिको बैठक स्थगित भएको छ।बिहान सभामुख देवराज घिमिरेसमक्ष समितिका सदस्यहरूले ध्यानाकर्षण गराएपछि एमाले सांसद पदम गिरीले पत्रकारसँग कुरा गर्दै समिति र सदनले पारित गरेको विषयमा बाहिरबाट शब्द थपेर संसद्को गरिमामाथि आँच पुर्याइएको बताए।
उनले दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे। त्यस्तै, एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले छानबिन नहुँदासम्म समितिको बैठकमा सहभागी नहुने स्पष्ट पारे। विवादका कारण समितिका सभापति रामहरि खतिवडाले अन्तिम समयमा बैठक स्थगित गरेका हुन्। समितिको कार्यतालिकामा प्रहरी विधेयकमा संशोधन प्रस्ताव राखेका सांसदहरूसँग छलफल गर्ने योजना थियो।