काठमाडौँ। नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले १५ औँ महाधिवेशनको मिति तोक्न माग गरेकी छन् । जारी केन्द्रीय समितिको बैठकमा बोल्दै महाधिवेशनको स्पष्ट मिति र कार्यतालिका तत्काल तय गर्नुपर्ने प्रस्ताव अघि सारिन् ।
उनले पार्टी विधान अनुसार महाधिवेशन वर्षमा क्रियाशील सदस्यता वितरण बन्द हुनुपर्ने बताइन् । उनले पार्टीभित्रको गुटबन्दीदेखि भ्रातृ संस्थाहरूले महाधिवेशन गर्न नसकेको विषय पनि राखिन् । सरकार र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको कामबारे पनि समीक्षा गर्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, ‘हामीले एमालेसँग सहकार्य गर्दा नै संविधान संशोधनको कुरा राखेका छौँ । हामीले सातै प्रदेशमा अन्तर्क्रिया पनि गर्यौँ । यो विषयमा काँग्रेसले नेतृत्वले लिनुपर्छ । साथै हामी मुख्य प्रतिस्पर्धी एमालेसँग सहकार्यमा छौँ । त्यसैले मिसन ०८४ को कुरा चलिरहेको छ । संगठन निर्माणमा पनि हामीले ध्यान दिनुपर्छ ।’
सोमबार पनि डा. शेखर कोइरालासहित अधिकांश नेताहरूले सभापति शेरबहादुर देउवालाई १५ औँ महाधिवेशनको मिति तोक्नदेखि सरकारबारे गम्भीर समीक्षा गर्न दबाब दिएका थिए । अहिले नेताहरूले बोल्ने क्रम जारी छ ।