• २०८३ साउन ८
  • 2026 July 24, Friday

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

काठमाडौं। आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती उनको जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका साथ तीन दिनसम्म मनाइने भएको छ। आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको मङ्गलबारको बैठकले यस्तो निर्णय गरेको हो ।

समितिका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार यही असार २७, २८ र २९ गते कविता प्रतियोगिता, रामायण वाचन, काव्यसन्ध्या, प्रभातफेरीलगायतथ कार्यक्रम आयोजना हुनेछन् ।

विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको १९२५ साल असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन्।

भानुभक्तका समकालीन साहित्यकार मोतीराम भट्टले उहाँलाई आदिकवि उपाधि दिएका हुन्। भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, वधुशिक्षालगायत कृति लेखेका थिए।  उनका ती कृतिका पाण्डुलिपि सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकका रूपमा प्रकाशन गरेपछि उनी नेपाली साहित्यिकमा स्थापित भएको मानिन्छ ।