• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

केशव स्थापितलाई प्रश्न : मेयर जित्नुभयाे भने तपाईँकाे कार्यालयमा तपाईँकै उपमेयर सुनिताजी सुरक्षित हुनुहुन्छ कि हुनुहुन्न ?

काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई ‘तपाईँले जितेकाे खण्डमा महानगरपालिकामा महिलाहरु जान कति सुरक्षित छ ?’भनी अभियानकर्मीले प्रश्न उठाएका छन् ।

धुम्बाराहीस्थित नेशनल कलेजले बिहीबार आयोजना गरेको ‘स्थानीय चुनावमा युवाको आशा र जिज्ञासा’ नामक अन्तरक्रिया कार्यक्रममा उनीमाथि लागेको यौनदुर्व्यवहारको आरोपबारे अभियानकर्मी भावना राउतले उक्त प्रश्न गरेकी हुन् । उनले भनिन् ‘यदी तपाईँले जितेकाे खण्डमा महानगरपालिकामा महिलाहरु जान कति सुरक्षित छन् ? तपाईँकै उपमेयर सुनिता डंगाेल कार्यालयमा कति सुरक्षित छन् ?’

काठमाडौं महानगरका उम्मेदवारहरूलाई बोलाइएको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी राउतले ‘मिटु’ अभियानका क्रममा उनीमाथि लागेको आरोपबारे जिज्ञासा राखेकी थिइन् ।

स्थापितले आरोप लागाउने महिलालाई भ्रष्टाचार गरेकाले निकालिएको जवाफ दिएका थिए ।

स्थापित जंगिएर जवाफ फर्काएपछि होहल्ला भएको थियो । राउतका अनुसार अन्तरक्रियामा सहभागी विवेकशील साझा पार्टीकी मेयर उम्मेदवार समीक्षा बास्कोटाले पनि स्थापितको व्यवहारप्रति मञ्चमा आपत्ति जनाएकी थिइन् ।

चार वर्षअघि काठमाडौं महानगरका पूर्वकर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्जला महर्जनले आफूहरूमाथि स्थापितले यौन दुर्व्यवहार गरेर हैरान पारेको आरोप लगाएका थिए ।

आफूमाथि कुनै बेला भएको दुर्व्यवहारबारे विश्वभरका महिलाले आवाज उठाइरहेको त्यो समयमा रश्मिला र उज्जलाले पनि स्थापितबाट भएका यौन दुराचारको घटना बाहिर ल्याएका थिए । विश्वभरिका महिलाहरूले सुरू गरेको उक्त अभियान ‘मिटू’ भनेर चिनिएको थियो ।