गगनलाई ओलीकाे जवाफ : ट्युसन क्लास चलाउने भाइ-बहिनी थुप्रै छन्, भिडाइदिउँला

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘केपी ओलीलाई ट्युसन पढाउँला’ भनी दिएकाे अभिव्यक्तिकाे जवाफ फर्काएका छन् ।

नेकपा एमालेले जारी गरेकाे घाेषणापत्रमा बहसमा काेही उत्रन चाहान्छ भने आफूहरु तयार रहेकाे पनि ओलीले बताएका छन् । बिहीबार राजधानीमा आयाेजित कार्यक्रममा उनले भने, ‘एमालेकाे घाेषणापत्रकाे सन्दर्भमा काेही ट्युसन क्लास चलाउँछु भन्ने पनि देखियाे । हाम्रा लागि त्याे ठूलाे कुरा भएन, भर्खर भर्खर पास गर्नेहरु थुप्राे छन् त्याे ट्युसन क्लास चलाउने, भिडाइदिउँला केही भएन ।’ तर आफूहरु बहस गर्न तयार भएकाे उनले प्रष्ट पारे ।

यसअघि नेपाली कांग्रेसकाे एक कार्यक्रममा कांग्रेस नेता थापाले आफूले भ्याएकाे खण्डमा केपी ओलीलाई बालकाेट गएर ट्युसन पढाउने अभिव्यक्ति दिएका थिए ।

अरुकाे कार्यक्रममा आफूहरुकाे बहस नभएकाे र सामान्य टिप्पणीमात्र भएकाे पनि ओलीले बताए । नेपाली कांग्रेसमा विचारकाबारेमा छलफल हुन छाडेकाे पनि उनले बताए । उनले भने, नेपाली कांग्रेसमा विचारमा बहस हुन्न, खाली नेता छान्ने मात्र हाे । कहाँ जान छानेकाे ती नेता भन्ने पनि थाहा छैन । पार्टीकाे गन्तब्य कहाँ हाे ?’

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१