• २०८३ साउन ७
  • 2026 July 23, Thursday

रसुवामा भीषण बाढी: १८ जना बेपत्ता, दुई सय मेगावाट विद्युत उत्पादन बन्द

रसुवा । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीमा गएराति करिब ३ बजे आएको भीषण बाढीले ठूला जनधन र संरचनात्मक क्षति पुर्‍याएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार हालसम्म तीन प्रहरीसहित १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा तीन जना नेपाली प्रहरी, ९ जना नेपाली कामदार र ६ जना चिनियाँ कामदार रहेका छन्।

इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धारमा खटिएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा सम्पर्कविहीन भएका छन्।

यस भीषण बाढीमा फसेका ९ जनाको भने सकुशल उद्धार गरिएको छ। उद्धार गरिएका व्यक्तिहरूमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका एक–एक जना र सात जना स्थानीय रहेका छन्।

बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल पूर्णरूपमा क्षतिग्रस्त भएको छ। मानिस र सवारी आवत–जावत पूर्णरूपमा ठप्प भएको छ। गोसाइकुण्ड गाउँपालिकामा रहेको विद्युतीय सवारी चार्जिङ स्टेसन, ७/८ वटा विद्युतीय गाडी र भन्सार यार्डमा पनि क्षति पुगेको छ।

ऊर्जा क्षेत्रमा ठूलो असर

बाढीले नेपाल विद्युत प्राधिकरणका आयोजना र पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार करिब २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ।

रसुवागढी जलविद्युत आयोजना (१११ मेगावाट) को बाँधको एउटा गेट बगाएको छ भने पुलमा क्षति पुगेको छ।

त्रिशूली ३ ए (६० मेगावाट) आयोजना भवनमा बाढी पसेको छ र त्रिशूली ३ बी को सबस्टेसन हिलोले पुरिएको छ।

चिलिमे पावरहाउस मा पानी पसेको भए पनि संरचनामा ठूलो क्षति नभएको जनाइएको छ।

बाढीले त्रिशूली किनारको प्रसारण लाइन को एउटा बाइपास टावरसमेत बगाएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा उद्धारमा खटिएका छन्।