• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

दाउराको जोहो गर्न जाँदा बाढीमा फसेका थिए तामाङ दम्पती, सिसौको रुखमा बिताए एक घण्टा!

नुवाकोटको विदुर नगरपालिका–९ का ६७ वर्षीय पाल्देन तामाङ र ६२ वर्षीया मंगलीमाया तामाङ दम्पती मंगलबार बिहान दाउरा खोज्दै खोलातिर लाग्दा ज्यानै जोखिममा पर्‍यो। झिसमिसेमै खोलातिर गएका उनीहरू रसुवाबाट आएको आकस्मिक बाढीमा फसे। त्रिशुली खोलाको पानी एक्कासि बढेपछि उनीहरूले नजिकैको सिसौको रुखमा चढेर ज्यान बचाए। डोकोसमेत हाँगामा झुन्ड्याए।

झन्डै एक घण्टा रुखमै बसेका तामाङ दम्पतीलाई स्थानीयले देखेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। किस्पाङ गाउँपालिका–४ का स्थायी बासिन्दा उनीहरू हाल विदुरमै बस्दै आएका छन्।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी विक्रम लामाका अनुसार घटनास्थल त्रिशूली बसपार्कनजिकै भएकाले चाँडै खबर पुग्यो। उद्धारपछि उनीहरूको स्वास्थ्य परीक्षण गरियो, र अवस्था सामान्य रहेपछि घर पठाइएको हो।
यता प्रहरीले भने बिहान ४ बजेदेखि नै माइकिङ गरी खोला आसपास नजान आग्रह गरिसकेको थियो।