
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ हाल युनाइटेड अरब इमिरेट्स (यूएई) मा रहेका छन्। बहराइनबाट सुरु गरिएको ‘उज्यालो नेपाल अभियान’ अन्तर्गत उनी यतिबेला यूएईमा रहेका नेपाली श्रमिक र नेपाली समुदायसँग भेटघाट र संवादमा व्यस्त छन्।
यूएईस्थित नेपाली राजदूत तेज बहादुर क्षेत्रीको निमन्त्रणामा नेपाली राजदूतावासमा आयोजित विशेष कार्यक्रममा बोल्दै घिसिङले नेपालमा बढ्दो निराशालाई आशामा बदल्न उज्यालो अभियानमा सबैलाई जोडिन आग्रह गरे।
“नेपालमा विकास हुन्छ, देशको अर्थतन्त्र अगाडि बढ्छ,” भन्दै उनले सकारात्मक परिवर्तनका लागि नेपाली श्रमिकनै मूल प्रेरक शक्ति भएको बताए। “मेरो सबैभन्दा ठूलो शक्तिको स्रोत तपाईहरू हो,” उनले भावुक हुँदै भने, “देश–विदेशबाट जुन सम्मान र माया पाइरहेको छु, यही मेरो आत्मविश्वासको स्रोत हो।”
सरकारको व्यवहारप्रति संकेत गर्दै उनले भने, “सरकारले ममाथि के गर्यो भनेर म हेर्दिन। म नेपाली जनताको मायालाई हेर्छु। देशको उज्यालो भविष्यलाई हेर्छु।”
घिसिङको “उज्यालो अभियान” पछिल्लो समय नेपालभित्र मात्र होइन, वैदेशिक रोजगारमा रहेका नेपालीबीच पनि प्रेरणादायी बन्दै गएको छ। उनी विभिन्न खाडी मुलुकमा रहेका नेपाली समुदायलाई ऊर्जा, आत्मविश्वास र सकारात्मक सोचका साथ राष्ट्र निर्माणमा जोडिन आह्वान गर्दैछन्।
यस अभियानमार्फत कुलमानले नेपालभित्र मात्र होइन, विदेशमा पसिना बगाइरहेका लाखौं श्रमिकको सम्मान, भूमिका र भविष्यप्रति गहिरो सम्मान प्रकट गर्दै राष्ट्रको उज्यालो भविष्यको जिम्मेवारी उनीहरूमाथि समेत रहेको सन्देश दिइरहेका छन्।