• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

नवराज सुवेदीले दिए निर्वाचन आयोगमा उजुरी, अन्याय भएको गुनासो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन आयोगबाट हटाइएका नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिएका छन्। उजुरी दिएपछि सञ्चारकर्मीसँग बोल्दै उनले आफूलाई अन्याय गरिएको दाबी गरे।

सुवेदीले आफूलाई जानकारी नदिई, नसोधी एकतर्फी निर्णय गरिएकोमा असन्तुष्टि जनाउँदै भने, “प्राकृतिक न्यायको सिद्धान्तअनुसार कम्तीमा मलाई सोध्नुपर्थ्यो। मलाई कुनै जानकारी नदिई, चिठी समेत नपठाई निर्णय लिइयो, म त मिडियाबाट मात्र थाहा पाएँ।”

उनले अध्यक्षले केन्द्रीय समितिबाट निर्णय नलिईकन स्वेच्छाचारी ढंगले आफूलाई हटाएको आरोप पनि लगाए।

पत्रकारले ‘तपाईंले त राप्रपा छाडेको घोषणा गर्नुभएको होइन र?’ भन्ने प्रश्नमा सुवेदीले भाषणको सन्दर्भ काटछाँट गरी प्रचार गरिएको बताएका छन्। उनले भने, “मैले राष्ट्र, धर्म र संविधानका पक्षमा जुनसुकै त्याग गर्न तयार छु भनेको थिएँ, तर पद नछोड्ने पनि भनेको थिएँ। तर सन्दर्भ हटाएर मात्रै एउटा अंश प्रस्तुत गरिएको हो।”

यद्यपि उनले यो विषयले पार्टीमा फुट आउँदैन भन्ने स्पष्ट पारे।