• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

अडियोमा भनिएको बा को हुन्?-सुमना श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो काण्ड छानबिन गर्न माग गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासम्बन्धी अडियो प्रकरणले संसदमा हलचल मच्चाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले आइतबारको प्रतिनिधिसभा बैठकमा कडा स्वरमा प्रश्न उठाउँदै गम्भीर छानबिनको माग गरिन्।

श्रेष्ठले अडियोमा कास्की मालपोत कार्यालयमा कर्मचारी पठाउने सेटिङ, जिल्ला भूमि आयोगमा मिलेमतो, र भूमि विधेयकलाई फास्टट्रयाकबाट पारित गराउने प्रयासजस्ता गम्भीर आरोपहरू उठाइएकाले सरकार चुप बस्न नहुने बताइन्।

उनले संसदमा प्रश्न गर्दै भनिन्, “अडियोमा भनिएको ‘बा’ को हुन्? दुई तिहाइको बहुमत जनताको हितमा कि सत्ताको बाँडफाँटमा?” एक मन्त्रीले अर्का मन्त्रीलाई पोलेको जस्ता गम्भीर प्रसंग सार्वजनिक भइरहँदा सरकार किन मौन छ भन्ने प्रश्न गरेकी थिइन्।

श्रेष्ठले सरकारमा चलिरहेको सेटिङ संस्कृति र गुटबन्दीले जनताले केही नपाएको कटाक्ष गर्दै निष्पक्ष छानबिनको माग गरिन्। सुमनाले आफ्ना कुरा राखेसंगै रास्वपा संसदबाट बाहिरिएको छ।