
काठमाडौँ। बर्दियामा मोटरसाइकल दुर्घटनामा परी पत्रकार कृष्णप्रसाद बस्यालको निधन भएको छ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्षसमेत रहेका बस्यालको आइतबार मधुवन नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा बस्यालको मृत्यु भएको हो ।
कुसुम्बाबजारदेखि गुलरियातर्फ आउँदै गर्दा राति करिब ८ बजे मधुवन नगरपालिका-८ गणेश चोक नजिक हुलाकी सडकमा उनी सवार भे १३ प ९३६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा गए राति मृत्यु भएको हो।
उनी मोटरसाइकलको पछाडि सवार थिए। बस्याल सवार मोटरसाइकलले साइकल यात्रुलाई जोगाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक ४२ वर्षीय विष्णु पौडेल घाइते भएका छन्। उनको हाल गुलरिया अस्पतालमा उपचार भइरहेको छ।