• २०८३ असार २९
  • 2026 July 13, Monday

अर्घाखाँचीमा बाँदर र बँदेल हेर्न २० जनालाई रोजगारी

अर्घाखाँचीमा बाँदर र बँदेलजस्ता वन्यजन्तुबाट हुने खेतीबालीको क्षति न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालयले २० जनालाई हेरालुका रूपमा रोजगारी दिएको छ।

आइतबार कार्यालयले छनोट प्रक्रिया पूरा गर्दै बाँदर तथा बँदेल हेरालुका रूपमा नियुक्त गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको हो। उनीहरूलाई सोमबार सम्झौता र अभिमुखीकरणका लागि बोलाइएको छ। तोकिएको मितिमा उपस्थित नभए सम्झौता नगर्ने स्पष्ट सन्देश कार्यालयले दिएको छ।

वन्यजन्तुजन्य क्षतिबाट किसानको कृषि सुरक्षा गर्ने, मानव–वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्ने र जैविक विविधताको संरक्षण गर्ने उद्देश्यसहित यो कार्यक्रम सञ्चालन गरिएको हो।

डिभिजन वन कार्यालयले यो कार्यक्रम सामुदायिक वन समूहहरूको सहकार्यमा अघि बढाएको छ। ती सामुदायिक वन समूहहरू वन व्यवस्थापनमा सक्रिय रहँदै आएका छन् र तिनका कोषमा पर्याप्त रकम मौज्दात रहेकोले सोही आधारमा हेरालु व्यवस्थापन गर्ने निर्णय गरिएको जनाइएको छ।