
सेयर बजारमा परिचित लगानीकर्ता दीपेन्द्र अग्रवाललाई ठगी र विश्वासघातको आरोपमा पक्राउ गरिएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरले उनलाई टोखाबाट पक्राउ गरेको हो। परिसर प्रमुख विश्व अधिकारीका अनुसार अग्रवालमाथि झन्डै २२ करोड रुपैयाँ ठगेको अभियोग लागेको छ।
अग्रवालले सेयर कारोबारको नाममा विभिन्न लगानीकर्ता र धितोपत्र दलाल कम्पनीहरुलाई झुक्याउँदै रकम असुल गरेको बताइएको छ। यसअघि नेपाल धितोपत्र बोर्डले समेत अग्रवालविरुद्ध अनुसन्धान गर्दै कारबाही प्रक्रिया अघि बढाइसकेको थियो।
सेयर बजारमा धेरैले आदर्श मान्ने अग्रवालले सस्तो मूल्यमा सेयर खरिद गरेर त्यसपछि सामाजिक सञ्जालमा प्रचार गर्दै अन्यलाई सेयर खरिद गर्न प्रेरित गर्ने, तोकिएको मूल्यसम्म पुग्ने झूटा आश्वासन दिने गर्थे। लगानीकर्ताले सेयर किन्न थालेपछि उनले आफ्ना सेयर महँगोमा बिक्री गर्ने गर्थे।
त्यस्तै, अग्रवालले १५ वटा कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) खाताहरू प्रयोग गर्दै आएका थिए। ती खातामार्फत उनले आफैं सेयर किनबेच गर्ने र मूल्य कृत्रिम रूपले बढाउने काम गर्थे। सेयर मूल्य बढेपछि उनले ती सेयर विक्री गरेर नाफा लिने गर्थे।
उनीमाथि अरूको टिएमएस खाता प्रयोग गरी कारोबार गर्ने, दलाल कम्पनीबाट रकम असुल्ने तर तिर्नुपर्ने पैसा नतिर्ने, एउटाको खाता रकम अर्को व्यक्तिको खातामा ट्रान्सफर गर्ने जस्ता कार्य गरेको आरोप पनि लागेको छ। यस सम्बन्धमा नेपाल धितोपत्र बोर्डमा उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो।