• २०८३ असार २९
  • 2026 July 13, Monday

राष्ट्रिय राजनीतिमा धोकाधडीको रुपमा प्रचण्ड हुनुहुन्छ- प्रधानमन्त्री ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड अहिलेको राजनीतिमा धोका दिने प्रवृत्तिको प्रतिक भएको बताएका छन् । राष्ट्रिय राजनीतिमा धोकाधडीको रुपमा प्रचण्ड हुनुहुन्छ भनेर ओलिले प्रचण्डलाई एमाले केन्द्रिय समित बैठकमा प्रहार गरेका छन् । उनले राजनीतिक सफलता र असफलताको जवाफ प्रचण्डले दिनुपर्ने भन्दै  माओवादीको अहिलेको तरिका फरक रहेको बताए ।

बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग नजिक देखिएका आफ्नै पार्टीका केही नेताहरूप्रति ओलिले गम्भीर असन्तोष व्यक्त गरेका छन्। आजदेखी सुरु भएको नवौँ केन्द्रिय कमिटी बैठकमा उनले चुनाव हारेका नेताहरू पनि भण्डारीको पछि लागिरहेको भन्दै आपत्ति जनाएका हुन्।

“जता गयो, त्यतै पछ्याउने? चुनाव हारेका नेताले पनि पछ्याएर हिँड्ने?” भन्दै ओलीले नेताहरूको व्यवहारप्रति खिन्नता व्यक्त गरे।

ओलीले आफूले भण्डारीलाई बालुवाटारमै बोलाएको स्वीकार गर्दै त्यो भेट सामान्य भएको जिकिर गरे। उनका अनुसार भण्डारीले पार्टी कार्यालय कहिल्यै नदेखेको भन्दै च्यासलमा भेट्न चाहेकोले त्यहीँ भेट भएको हो।

“पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीबीचको भेट ठूलो कुरा होइन,” ओलीले भने, “तर केही नेताहरू उनी (भण्डारी) का प्रवक्ता बनेर हिँडिरहेका छन्, जुन आवश्यक छैन। भण्डारीले आफैं के गर्ने भनेर केही भनेकी छैनन्।”

पार्टीभित्र अनुशासनहीन र अस्वस्थ प्रवृत्तिहरू बढ्दै गएको भन्दै अध्यक्ष ओलीले त्यसप्रति स्पष्ट चेतावनीसमेत दिए। उनले विगतमा एमालेको आन्दोलनले निरन्तर हमलाहरू झेलेको उल्लेख गर्दै विरोधीहरूलाई झुट, बेइमान र अफवाह फैलाउने आरोप लगाए।

ओलीले गालीगलौजको राजनीतिक प्रवृत्तिको जन्म मोहनविक्रम सिंहले गराएको र त्यसलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तार गरेको आरोप लगाए।

पार्टीभित्र केही नेताहरू ससाना स्वार्थमा अल्झिएको भन्दै आलोचना गर्दै उनले एमालेले अघि सारेको “मिसन ०८४” का लागि सबै एकजुट हुनुपर्ने आवश्यकता दोहोर्याए।

ओलीले नेतृत्वको उमेर सीमा हटाउने विषयमा पनि प्रस्ट पारे। उनले ७० वर्षे उमेरहदको प्रस्ताव आफैले ल्याएको तर अहिलेको परिस्थिति फरक रहेको बताए। “अब पार्टीमा अस्वस्थ गतिविधि कुनै हालतमा स्वीकार्य हुने छैन,” ओलीको चेतावनी थियो।

उनको अभिव्यक्तिले एमालेभित्रको आन्तरिक विवाद, नेताहरूको भूमिकामाथिको प्रश्न र आगामी रणनीतिमा एकता आवश्यकताको सन्देश दिएको छ।