• २०८३ जेठ २२
  • 2026 June 05, Friday

ओबामालाई हतकडी लगाएको नक्कली भिडिओ ट्रम्पले गरे पोस्ट

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामालाई ओभल अफिसमा गिरफ्तार गरिएको देखाउने एउटा नक्कली भिडिओ रिपोस्ट गरेका छन्।

आर्टिफिसियल इन्टेलिजेन्सको (एआई) प्रयोग गरेर बनाइएको छोटो भिडिओ टिकटकमा पोस्ट गरिएपछि आइतबार ट्रम्पले उनको सामाजिक संजाल ट्रुथ सोसियलमा रिपोस्ट गरेका थिए।

सन् २०१६ मा पहिलो कार्यकालका लागि ट्रम्प चुनाव लड्दा ओबामा राष्ट्रपति थिए। ट्रम्प सरकारका अधिकारीहरूले ट्रम्पको चुनावी अभियानलाई त्यतिबेला ओबामाले नोक्सान पुर्याउन खोजेको आरोप लगाइरहेका बेलामा ट्रम्पले यस्तो भिडिओ पोस्ट गरेका हुन्।

बालिकाहरूलाई वेश्यावृत्तिमा संलग्न गराएको भन्दै जेल सजाय भोगेका जेफ्री एपस्टिनसँगको ट्रम्पको व्यक्तिगत सम्बन्धबारे अहिले चर्चा भइरहेको छ। यस्तो बेलामा सो मामलाबाट ध्यान हटाउन पनि उनले सो भिडिओ पोस्ट गरेका हुनसक्छन्।

सो भिडिओ सन् २०१६ को नोभेम्बरमा राष्ट्रपति निर्वाचित भएको केही दिन पछि ट्रम्पको तत्कालीन राष्ट्रपति ओबामासँग ओभल अफिसमा भएको भेटको फुटेजलाई छेडछाड गरिएर बनाएको जस्तो देखिन्छ भनेर द न्युयोर्क टाइम्सले लेखेको छ।

नक्कली भिडिओमा एफबिआईका एजेन्टहरू बैठकमा प्रवेश गरी ओबामालाई घुँडा टेकाएर हतकडी लगाउँदै गरेको र ट्रम्प मुस्कुराउँदै हेरिरहेको देखाइएको छ। पछि ओबामालाई सुन्तला रंगको जम्पसुटमा जेलभित्र हिँडिरहेको देखाइएको छ।

सो भिडिओको सुरूमा भने ओबामा र पूर्व राष्ट्रपति जो बाइडेन लगायतका डेमोक्र्याटिक नेताहरूले ‘कानूनभन्दा माथि कोहि पनि छैनन्’ भनिरहेका वास्तविक फुटेजको संकलन देखाइएको छ। ट्रम्पले आफ्नो ट्रुथ सोसियल खातामा नियमित रूपमा एआई-सिर्जित वा छेडछाड गरिएका भिडिओ र तस्बिरहरू रिपोस्ट गर्ने गर्छन्।