• २०८३ असार २९
  • 2026 July 13, Monday

ममता काफ्ले बेपत्ता प्रकरणमा नयाँ ट्वीस्ट: मुद्दा २०२६ सम्म लम्बियो

अमेरिकामा बेपत्ता भएकी नेपाली मूलकी ममता काफ्ले भट्टको मुद्दामा नयाँ मोड आएको छ। उनका श्रीमान् नरेश भट्टमाथि लागेको हत्या, शव लुकाएको र अंगभंग गरेको आरोपको मुद्दा अब २०२६ सम्म लम्बिएको छ। यो ढिलाइसँगै ममताको परिवार र न्याय खोजिरहेका सामाजिक अभियन्ताहरु निराश बनेका छन्।

नरेश भट्टलाई २०२३ अगस्टमा पक्राउ गरिएको थियो। उनलाई पहिले शव लुकाएको आरोप लागेपछि पछि हत्या र अंगभंग गरेको थप आरोप पनि लगाइएको थियो। तर ममताको शव र शवका कुनै अवशेस भने अझै भेटिएको छैन।

सेप्टेम्बर २०२४ मा सुनुवाइ सुरु हुने भनिए पनि अहिले अदालतले मुद्दा अक्टोबर २०२६ मा मात्र चलाउने निर्णय गरेको छ। अभियोजन पक्षका वकिलहरू व्यस्त रहेको भन्दै थप समय मागेपछि न्यायाधीशले त्यसमा सहमति जनाएकी हुन्।

यसबीच, ममताकी आमा गीता काफ्ले र भाइ महेश अमेरिका पुगेर ममताकी सानी छोरी नीमाको हेरचाह गर्दै आएका छन्। तर न्यायको प्रतीक्षा लम्बिएपछि उनीहरू थप पीडित बनेका छन्।

मुद्दा स्थगित भएको सुनेपछि ममताकी पूर्व सहकर्मी होली विर्थले ‘हामी आफूलाई पराजित महसुस गरिरहेका छौं’ भन्दै निराशा व्यक्त गरेकी छन्। घरेलु हिंसाबाट बचेकी अर्की समर्थक एन्जल रोडासले भने, “काफ्ले परिवारमाथि यो घटना छुरा हानिएजस्तै भएको भनेर बताएकी छन् ।

अब सुनुवाइ अक्टोबर ५ देखि सुरु भई नोभेम्बर १९, २०२६ सम्म चल्ने बताइएको छ। मुद्दाका लागि ३०० जना आम नागरिकहरूमध्येबाट निष्पक्ष जुरी छानिनेछ।

न्यायमा यस्तो ढिलाइले पीडित परिवारलाई “केस क्लोजर” अर्थात् घटना टुंगिने आशामा अझै प्रतिक्षा गरिरहन बाध्य बनाएको छ।