
काठमाडौँ — हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकोले देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ।
महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी भूभागमा सामान्य बदली रहँदा बाँकी भागमा आंशिक बदली रहेको छ। बागमती, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिइएको छ।
आज दिउँसो पनि पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने प्रक्षेपण गरिएको छ। पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशमा हावाहुरी चल्ने चेतावनी दिइएको छ।
आज राति कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। मधेस र लुम्बिनी प्रदेशका तराई भागहरूमा राति पनि हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मनसुन कमजोर भएकाले दिउँसोको समयमा देशभर गर्मी यथावत् रहने अनुमान गरिएको छ। मौसममा आउने यस्ता परिवर्तनहरूबाट सतर्क रहन तथा आवश्यक सुरक्षा सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।