चितवनको विद्युत् समस्या समाधान गर्न फिल्डमा हितेन्द्रदेव

काठमाडौँ । चितवनको चनौली वितरण केन्द्रमा देखिएको समस्या छिटो समाधानका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आज बिहानै चितवन पुगेका छन् ।

आजैबाट विद्युत् आपूर्ति नियमित गर्ने तयारीमा प्राधिकरणको प्राविधिक टोली खटिरहेका बेला शाक्य पनि चितवन पुगेका प्राधिकरणले जानकारी दिएको छ। चितवनबाट प्राधिकरणले लोडसेडिङ सुरु गर्‍यो भनेर विभिन्न खाले हल्ला चलाइरहेका बेला शाक्य आफै त्यहाँको समस्या बुझ्न, तत्काल समाधान गर्न र आफ्ना कर्मचारीलाई छिटो काम सम्पन्न गर्न प्रोत्साहनका लागि फिल्डमै पुगेका हुन् ।

‘चनौली शाखामा देखिएको समस्या समाधानका लागि मर्मत कार्य जारी छ,’ सोमबार बिहान चितवन पुगेका शाक्यले भने,  ‘प्राविधिक समस्यालाई जतिसक्दो छिटो सम्पन्न गरेर नियमित विद्युत् आपूर्तिको व्यवस्था गर्नका लागि म अहिले चितवन आइपुगेको छु ।’

उनले चितवन पुगेर त्यहाँको प्राविधिक समस्याहरूलाई बुझ्ने, छिटो समाधानको उपाय खोज्नेलगायतका काममा खटिरहेको पनि जानकारी दिए  । ‘म बिहान चितवन पुगेको छ । मेरो टिमका साथीहरूसँग पनि यहाँका बारेमा थप जानकारी लिइरहेको छु,’ उनले भने, ‘आज बेलुकासम्ममा चुनौलीको समस्या समाधान हुनेमा आशावादी छौँ । भोलिबाट नियमित विद्युत् आपूर्तिको अवस्थामा पुग्छौँ ।’

निरन्तरको वर्षाको समेत प्रवाह नगरी प्राधिकरणका प्राविधिक टोली काममा रातभरि पनि खटिरहेको भन्दै उनले जति सक्दो छिटो समाधान हुनेमा आशावादी रहेको बताए ।

‘प्राविधिक साथीहरू रातभरि पनि काममा खटिइरहनुभएको छ ।  चनौली, हर्दीलगायतका ठाउँमा देखिएको समस्या हामी जतिसक्दो छिटो समाधान गर्छौ,’ उनले भने, ‘आजै भरतपुर वितरण केन्द्रको निरीक्षण गरेर त्यहाँ देखिएका केही समस्याका बारेमा पनि छलफल भएको छ । अब चनौलीपछि जनकपुरसम्म जाने तयारी छ ।’

उनले मधेस प्रदेशको जनकपुर लगायतसम्म पुगेर त्यहाँको डिप बोरिङ जडानका लागि के भइरहेको छ र त्यसले विद्युत् आपूर्तिमा के–कस्तो प्राविधिक समस्याहरू देखिन सक्छ भन्नेलगायतका विषयमा पनि अनुगमन गर्ने र बुझ्ने तयारीमा रहेको जानकारी दिए  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि सुक्खाग्रस्त मधेसमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरिसकेका छन् ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पनि पूर्वी चितवनको हर्दीमा रहेको २४ मेगावाट विद्युत् जडानको काम सकेर नयाँ ट्रान्फर्मर चार्ज भइरहेको जानकारी दिए । उनले  त्यो  ट्रान्फर्मर चार्ज भइसकेपछि सोमबार नै लोड सार्ने काम सम्पन्न हुनेर सकेसम्म आजैबाट नियमित विद्युत् आपूर्ति हुनेमा आशावादी रहेको जानकारी दिए।

‘चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा विद्युत् आपूर्ति गर्ने चनौली ३३/११ केभी सवस्टेशनमा न्यु भरतपुर बसेनी सवस्टेशनबाट आउने ३३ केभी लाइनमाको बाटो साँघुरो भएको र अत्यधिक लोडका कारण समस्या सिर्जना भएको हो,’ उनले भने, ‘यो समस्या सकेसम्म आजै समाधान गर्छौ । त्यसका लागि हाम्रो टोली रातभरि खटेर भए पनि समाधानको प्रयासमा निरन्तर लागेको छ ।’

चुनौली वितरण केन्द्रको क्षमता ३०० सय  एम्पिएरसम्मको क्षमता भए पनि विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत्  प्रवाह हुँदा लोड धान्न नसकेको प्राधिकरणले जानकारी दिएको छ ।

वर्षातको समयमा अपेक्षाकृत पानी नपर्दा आइपरेको खडेरीका कारण अत्यधिक मात्रामा बढेको सिँचाइ लोड व्यवस्थापनका लागि विद्युत् लाइन तथा ट्रान्सफर्मरहरू बदली गर्नुपर्ने हुँदा सोको लागि लाइन अवरुद्ध भएपछि चनौलीको लोडलाई नजिकैको सवस्टेशनमा सारेर ओभरलोडिङको समस्या समाधानका लागि उपकार्यकारी निर्देशक श्रेष्ठको नेतृत्वमा प्राधिकरणको टोली चितवनमा खटिरहेको छ ।

चनौली क्षेत्रको मागलाई दीर्घकालीन व्यवस्थापन गर्नका लागि बसेनी १३२ केभी सवस्टेशनबाट चनौली सवस्टेशनसम्म नयाँ ३३ केभी लाइन निर्माण कार्य अन्तिम चरणमा रहेको र सो लाइनपछि यो समस्या दीर्घकालीन रूपमा समाधान हुने पनि प्राधिकरणको भनाई छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१