नेपाल एयरलाइन्सलाई ITCTA 2025 मा ‘नेपाल रुटमा सर्वश्रेष्ठ एयरलाइन्स’ को सम्मान

काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय अवार्ड जित्दै गौरवपूर्ण उपलब्धि हात पारेको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न 10th International Tourism Conclave & Travel Awards (ITCTA) 2025 मा नेपाल एयरलाइन्सलाई ‘नेपाल रुटमा सर्वश्रेष्ठ एयरलाइन्स (Best Airlines on Nepal Route)’ को रुपमा सम्मानित गरिएको हो।

मेरिडियन होटल, दिल्लीमा आयोजित उक्त भव्य समारोहमा ICM Group का अध्यक्ष अजय गुप्ता र भारत सरकारका प्रतिनिधि तथा जम्मु तथा कश्मीरका माननीय मुख्यमन्त्रीका सल्लाहकार नासिर असलम वानीले संयुक्त रूपमा नेपाल वायुसेवा निगमलाई उक्त सम्मान प्रदान गरे।

नेपाल एयरलाइन्सको तर्फबाट नयाँ दिल्लीस्थित कार्यालयका कन्ट्री म्यानेजर कमल ज्ञवाली, वित्त प्रमुख रमन निरौला, र एयरपोर्ट म्यानेजर भानुभक्त कटुवाल को सहभागितामा पुरस्कार ग्रहण गरिएको थियो।

ITCTA अवार्ड समारोह प्रत्येक वर्ष पर्यटन तथा उड्डयन क्षेत्रमा योगदान पुर्‍याउने संस्था, व्यक्ति वा निकायलाई अन्तर्राष्ट्रियस्तरमा सम्मान प्रदान गर्ने उद्देश्यले आयोजना गरिन्छ। यस वर्षको संस्करणमा भारत सरकारका वरिष्ठ अधिकारी, पर्यटन बोर्ड प्रतिनिधि, अग्रणी टुर अपरेटर, भारतीय र अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रका प्रमुख व्यवसायिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाल वायुसेवा निगमले यो सम्मान राष्ट्रिय ध्वजावाहकको हैसियतमा आफ्नो पहिचान थप मजबुत बनाउने अवसरको रूपमा लिएको छ। निगमले नेपाल–भारतबीचको पर्यटन प्रवर्द्धन तथा सम्बन्ध विस्तारमा खेलेको भूमिकालाई यो सम्मानले औपचारिक मान्यता दिएको बताइएको छ। साथै, सुरक्षायुक्त, भरपर्दो र यात्रुमैत्री सेवा प्रदान गर्न प्रेरणा र उत्साह मिलेको निगमले जनाएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१