
मकवानपुर । नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको बैठकले दलका नेता बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित गरेसँगै संसदीय दलको नेता पद रिक्त भएको छ ।
केहीबेर अघि संसदीय दलको बैठकमा अविश्वास प्रस्तावमाथि मत विभाजन हुँदा प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेको थियो । कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेता पद रिक्त भएसँगै नयाँ नेता चयन गर्न प्रक्रिया अघि बढाइने भएको छ ।
मंगलबार दिउँसो ३ बजे नेपाली कांग्रेस बागमती प्रदेश समितिको बैठक बसेर संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउनेबारे निर्णय गर्ने भएको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको सभापति इन्द्र बानियाँ छन् । उनकै अग्रसरतामा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव ल्याइएको थियो ।
बानियाँ नै संसदीय दलको नेता बन्ने होडमा छन् । कांग्रेस प्रदेश कार्यसमितिको बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचनको मिति घोषणा गर्ने प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले जानकारी दिए । ‘दिउँसो ३ बजे प्रदेश कार्यसमितिको बैठक बस्छ,’ श्रेष्ठले भने, ‘त्यसपछि संसदीय दलको नेता चयनसम्बन्धी मिति तोकिन्छ ।’
सम्भवतः बुधबार संसदीय दलको नेता पदका लागि निर्वाचन हुन सक्ने श्रेष्ठको भनाइ छ ।