• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

रास्वपाको भैरहवामा संसदीय दलको बैठक आज, उपचुनाव र संसद समीक्षा मुख्य एजेन्डा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (बुधबार) भैरहवामा संसदीय दलको बैठक बोलाएको छ। दिउँसो १ बजे भैरहवास्थित रमादा होटलमा बैठक बस्न लागेको हो।

दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार संसदको चालु (बर्खे) अधिवेशनको समीक्षा, कुलिङ अफ् पिरियड, संवैधानिक निकायहरूको कामकारबाहीलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ।

रास्वपाका नेता तथा सांसदहरू रुपन्देही–३ लक्षित कार्यक्रमका क्रममा अहिले भैरहवामा छन्। सोही सन्दर्भमा पार्टी सभापति रवि लामिछानेसँग कारागारमै भेटघाट गर्दै नेताहरूले परामर्श पनि लिइरहेका छन्।

मंगलबार मात्रै कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले सभापति लामिछानेलाई भेटी राजनीतिक विषयमा सल्लाह गरेका थिए।

रुपन्देही–३ को उपनिर्वाचनलाई केन्द्रमा राखेर रास्वपाले मतदाता भेटघाट, हस्ताक्षर संकलन अभियान लगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। संसदीय दलको बैठकलाई समेत पार्टीले चुनावी तयारीको हिस्साका रूपमा लिएको जनाएको छ।